गणतन्त्र नलेख्ने ओली सरकारकाे निर्णय प्रतिगमनकाे ग्राण्ड डिजाइन : श्रेष्ठ

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा सांसद राजेन्द्र श्रेष्ठले केपी ओली सरकारले गत असोज ११ गते मन्त्रिपरिषद्बाट नेपालको नामको अघि लेखिने ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने निर्णय गर्नु ‘बाघ कराउनु बाख्रा हराउनु’ मात्र नभएको बताएका छन् ।

उनले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नियतबस नै नेपालको अघि संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने निर्णय गरेको बताएका हुन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेका नेता श्रेष्ठले ओली सरकारले नेपालको संविधानको मर्म र भावनाविपरीत निर्णय गरेकोले नै समितिले समेत सरकारलाई उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको बताए ।

उनले गत ९ नाेभेम्बरमा आफ्नाे फेसबुकमा समितिको निर्देशनबारे प्रष्ट पार्दै यो कुरा बताएका हुन् ।

‘नेपाली जनताको शान्तिपूर्ण जनक्रान्ति, दशवर्षे जनयुद्ध, मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, शिल्पी/दलित तथा महिला, मजदुर, किसान लगायत सबैले गरेको जनसंघर्षको परिणामस्वरुप नै नेपाल एकात्मक राज्यबाट संघीयतामा, निरंकुश निर्दलीयताबाट लोकतान्त्रिक व्यवस्थामा र संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा गएको तथ्य सबैलाई थाहै छ । त्यही अन्तरवस्तुलाई अभिव्यक्ति दिन नै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको हो । तर वर्तमान केपी ओली नेतृत्वको सरकारले असोज ११ गतेको निर्णयले देशलाई पुनः प्रतिगमनको दिशामा लाने ग्राण्ड डिजाइन तयार भएको छ,’ श्रेष्ठले लेखेका छन्, ‘देशमा भएको युगान्तकारी परिवर्तनलाई संस्थागत गर्न आजसम्म औपचारिक रुपमा देश विदेशमा प्रयोग भएको नाम यो सरकारले किन परिवर्तन चाहेको हो ? यो पक्कै पनि बाघ कराउनु र बाख्रा हराउनु मात्र होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *