लिम्बुहरुले २०७८ सालकाे जनगणनामा धर्मकाे महलमा किरात लेख्ने

लिम्बुहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जाति, मातृभाषा र पुख्र्यौली भाषामा ‘लिम्बु’ र धर्ममा ‘किरात’ लेख्न लिम्बु समुदायमा अपिल गरेको छ ।

चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बुले जाति, मातृभाषा र पुख्र्यौली भाषामा लिम्बु र धर्ममा किरात लेख्नका लागि आगामी मंसिरपछि समुदायमा अभियान चलाइने बताए ।

हाल लिम्बु समुदायका अगुवाहरुबिच धर्मको महलमा किरात कि युमा लेख्ने भन्ने विवाद देखिएको छ ।

चुम्लुङले २०७६ सालको राष्ट्रिय सम्मेलन, सोभन्दा अगाडिको अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनहरुले निर्णय तथा अनुमोदन गरेअनुसार नै २०७८ सालको जनगणनामा धर्ममा किरात लेख्न अपिलसहित अभियान चलाउन लागेको हो ।

लिम्बुहरुमा मौलिकताको बहस जारी भए पनि जनगणनामा तथ्यांकको महत्व हुने भएकोले अहिलेका लागि किरात धर्म नै लेखाएर जानुपर्ने चुम्लुङको धारणा रहेको अध्यक्ष लिम्बुले बताए ।

‘हाम्रा अनुष्ठान र अभ्यासहरुलाई कसरी मौलिक बनाउने भन्ने कुरा बहसमा छ,’ उनले भने, ‘तर अहिले राष्ट्रिय जनगणनाको सन्दर्भ भनेको चाहिँ तथ्यांकलाई बलियो बनाउने र एकजुट बनाउने सन्दर्भ भएको हुनाले धर्मको महलमा किरात नै लेखेर जाऔ भन्ने हाम्रो धारणा छ ।’

उनले लिम्बुहरुको संस्कारहरुलाई मौलिक र पहिचानयुक्त बनाउने बहस जायज रहेको र यो बसह पछि पनि जारी रहने बताए ।

‘जातिमा लिम्बु लेखाएर जाऔ भन्ने कुरा समानुपातिक समावेशी आरक्षणको व्यवस्थालाई अभ्यास गर्नका लागि हो, मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा स्थापित गराउन र मान्यता दिलाउन लिम्बु भाषा लेख्नुपर्छ,’ उनले भने, ‘धर्मको बारेमा पनि हामीले राज्यलाई धर्मनिरपेक्षता र हाम्रो उपस्थितिको तथ्य दिनका लागि यो बल गरेका हौ ।’

लिम्बु समुदायभित्र पछिल्लो समय धर्मको विषयमा किरात कि युमा ? भन्ने बहस जारी छ भने जातिको विषयमा समेत लिम्बु कि याक्थुङ भन्ने बहस छ । जातिमा लिम्बु भन्दा याक्थुङ लेख्दा मौलिक हुने कतिपयको तर्क छ ।

नेपालमा हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना आगामी २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *