नेपालकाे संस्थापक यलम्बर

–जुद्ध ढाक्रे

काठमाडौंको कथा ऐतिहासिक पुरुष बाणासुरबाट सुरु हुन्छ । उनी हालको पुरानो र नयाँ बानेश्वरमा बस्दथे । उनैको नामबाट बानेश्वर नामम रहन गएको हो भन्ने विश्वास गरिन्छ । तत्कालिन काठमाडौं खाल्डो पानीले भरिएको थियो । बानेश्वर मात्र हाइटमा रहेकोले त्यो ठाउँमा रातोमाटो पनि पाइन्थ्यो । अहिले पनि अरु ठाउँमा बालुवा मात्र भेटिन्छ । पानीलाई चोभारको डाँडा काटेर महाचीनका मञ्जुश्रीले बगाएका हुन् भन्ने धेरै ठाउँमा उल्लेख गरिएको पाइन्छ । काठमाडौ भ्यालीमा गाई चराउने आए र भैसी चराउने आए । नेपालको इतिहासले गाई चराउनेलाई राजा र भैसी चराउनेलाई पनि राजा थिए भनेर लेखेको छ । यो अरुको इतिहास विकृत बनाउन लेखिएको हो कि गाई र भैसी चराउनेलाई राजाको दर्जा दिन मिल्छ त्यो पुनरव्याख्याको आवश्यकता देखिन आउँछ ।

किरात सम्राट यलम्बरले सुरु गरेको राज्य उनका सन्तान दरसन्तानले चलाउँदै करिब १७०० वर्ष २८ देखि ३२ पुस्ताले चलाएको राजाहरुको नाम कसले कति वर्ष चलाए भन्ने प्रमाणित दस्तावेज विश्वका विभिन्न पुस्तकालयमा भेटिन्छ । यस्तो स्वर्ण इतिहासको बारेमा नेपालका इतिहासकारहरुलाई लेख्न फुर्सद छैन । खाली झुट र चाकडी लेख्न तल्लिन छन् ।
किरात राजा यलम्बरको इतिहास छोप्न शाह, राणा, पञ्चायत र वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत ठूला दल भनाउँदा हिन्दुत्वलाई बढावा दिन चाहने पुँजीवादी वा समाजवादी कांग्रेस र नेकपा भन्ने पार्टीहरु पनि योजनाबद्ध लागेका छन् । उनीहरुले किरात भनेको राई र लिम्बू मात्र हुन् भन्ने प्रचार गरेका छन् । तर यो सत्य होइन । किरात भनेको बृहत सभ्यता हो । यसभित्र धेरै जाति, धेरै थरि र धेरै भाषीहरु छन् ।

प्रा.डा.गोपाल शिवाकोटीले मेचे, कोचे, गुरुङ, तामाङ, मगर, नेवार, सुनुवार, थारु, दनुवार, धिमाल र लेप्चा किराती हुन् भनेर ‘किरात जाति’ नामक पुस्तकमा लेखेका छन् । त्यस्तै नेपालको पश्चिममा बसोबास गर्ने खसहरुसँग पनि किरातीहरुको मतवाली खससँग मगनी विवाह हुने चलन थियो पछि हिन्दुकरण भएपछि यो सम्बन्ध छुुटेको हो भन्ने इतिहासकार र जानकारहरु बताउने गर्छन् । नेपाल राज्यका संस्थापक किरात सम्राट यलम्बरहाङको इतिहासले कही पनि सम्मान पाएको देखिदैन । लेखक तथा समालोचक लोककृष्ण भट्टराईले लेखेको किताबमा ‘नेपाली सभ्यता : विगत र वर्तमान’मा नेपालको संस्थापक राजा यलम्बर नै हुन् भनिएको छ । पशुपतिनाथको मन्दिर पनि राजा यलम्बरले बनाएका हुन् भनेर किटान गरेर लेखिएको छ । उनले यसबारेमा यसरी प्रष्ट्याएका छन् ।

‘महादेवको शिवलिंग स्थापना गरेका थिए, यिनीले नेपाली सभ्यता र राष्ट्रियता, राष्ट्र सृजना गर्ने जागरण अभियानमा पहिलो ढुंगा स्थापना गरेका थिए । त्यसैले सभ्यताको हिसाबले यी गणप्रमुखलाई नेपाली राष्ट्रियताको जागरणमा प्रथम पुरुष भनेर हामी नेपालीहरुले मान्नुपर्ने हुन्छ ।’

आदिवासीहरुको नजरमा पृथ्वीनारायण शाह

पृथ्वीनारायण शाहका सन्तानले आफूहरु भारतको राजस्थानबाट भागेर आएको ठकुरी ठान्छन् । ती भगौडा ठकुरीहरु नेपालको राजगद्दीमा कसरी पुगे त भन्दा एउटा रोचक कथा छ ।

आजभन्दा करिब ३०० वर्षअघि गोरखाको लिगलिगकोटमा गुरुङ घलेहरुको राज्य थियो । घले राज्यमा रहेक वर्ष राजाको छनोट दौडबाट गरिन्थ्यो । दौडमा जसले जित्थ्यो त्यही व्यक्ति एक वर्षको लागि राजा चुनिन्थ्यो । त्यो प्रतिस्पर्धा घलेहरुले मात्र गर्न पाउथ्यो । पृथ्वीनारायण शाहका बाजे द्रब्य शाहले षडयन्त्र गरी दौडको बिचमा घुसे र दौड जिते । त्यही समयबाट घलेहरुको राज्य छिनेर गोरखाको राजगद्दीमा बसेका थिए । त्यसैको निरन्तरता द्रब्य शाहदेखि पृथ्वीनारायण शाह हुँदै २०६३ सालमा आएर ज्ञानेन्द्र शाहमा टुंगियो ।

नेपाल अन्तरिम संविधान २०६३ हुँदै २०७२ सालमा आएर संविधान निर्माण भएपछि संघीय गणतान्त्रिक मुलुक भएको छ । तर, फर्जी र चाकडीबाज इतिहासकार भनाउँदाहरुले पृथ्वीनारायण शाहले खोरिया फाँडेर बस्ती बसाएको जस्तै गरी राष्ट्र नायक, राष्ट्र निर्माता र राष्ट्रिय एकताको प्रतिक भनेर भजन गाउने काम गरिरहेका छन् । अर्काेतर्फ नेपालका आदिवासीहरु जो पृथ्वीनारायण शाहभन्दा अगाडिदेखि नै नेपालमा आफ्नाे राज्य स्थापना गरेर बसेका थिए, उनीहरुलाई बरबरता तरिकाले हत्या गरेर आफ्नो गोरखा राज्य विस्तार गरे । जसले आफ्नाे पुर्खाको बैभव पृथ्वीनारायण शाहका कारणले गुमाए, तिनीहरुले पृथ्वीनारायण शाहलाई राष्ट्र पिता पनि मान्दैनन् राष्ट्र निर्माता पनि मान्दैनन् । गोरखा राज्य विस्तारको क्रममा कीर्तिपुरका नेवारहरुको कान काटेर ३२ धार्नी बनाएको कारणले आजसम्म पनि पुस महिनामा कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई थुक्ने दिवस मनाइन्छ । अबको दिनमा पृथ्वीनारायण शाहलाई मूल्यंकन गर्दा सकारात्मक र नकारात्मक दुवै पक्षबाट समभावले गर्नुपर्छ ।

गोरखा राज्य विस्तार अभियानको असर

गोरखा राज्यको विस्तारले नेपालका सबै आदिवासीहरुलाई सबै कुराबाट विस्थापित गर्यो । आफ्नाे थातथलोबाट, आफ्नाे भाषा र संस्कृतिबाट, आफ्नाे धर्मबाट हात धुनु लगाएर हिन्दु धर्म लादियो । नजानिदो तरिकाले नेपाल राज्यले अहिलेसम्म यो क्रमलाई निरन्तरता दिइरहेको छ ।

नेपालको भाषा आयोगको रेकर्डमा १२९ भाषा रहेको छ । एउटा खस भाषा बाहेक राज्यले अरुको भाषामा लगानी गरेको छैन । घुमाइफिराइ संस्कृत भाषालाई अनिवार्य भाषा भनेर विद्यालयहरुमा लादेको छ । थारुको बच्चाले थारु भाषामा शिक्षा लिन पाउँदैन । मगर, गुरुङ, तामाङ, शेर्पा, किरातका २८ भाषा, नेवारी भाषा, मैथिली र भोजपुरी भाषीहरुलाई सरकारी प्रबद्र्धन मिलेको छैन । यो देश बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक भनेर वर्तमान संविधानले मनेको छ । तर त्यो अक्षरमा मात्र सीमित छ । वर्तमान घडीमा आदिवासी जनजाति हुँ भन्ने मनुवाहरुले बुझ्नुपर्ने कुरा यो छ कि नेपालको ठूलो राजनीतिक दल भनिने नेकपा र नेपाली कांग्रेसले पृथ्वीनारायण शाहले जे अभियान चलाएका थिए त्यसैको निरन्तरता दिइरहेका छन् । किनभने पृथ्वीनारायण शाहको नश्ल र कांग्रेस अनि नेकपाको नश्ल एउटै हो । समयको कारणले केही सन्दर्भ फेरियो होला, तर यिनीहरुको उदेश्य एउटै हो । पृथ्वीनारायण शाह हिन्दु थिए अनि वर्णाश्रम व्यवस्थाका पृष्ठपोषक थिए । कांग्रेस र नेकपा पनि हिन्दु धर्मलाई प्रोत्साहन गर्छन् र वर्णाश्रम व्यवस्थालाई निरन्तरता दिइरहेका छन् । नेपालको संविधान २०७२ ले दलित शब्ललाई संविधानकरण गरेको छ । त्यसैले उनीहरु समाजबाट छुवाछुत हटाउन चाहँदैनन् भन्ने प्रमाण अरुतिर जुटाउन जान पर्दैन । अर्को उदाहरण पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार अभियानमा हिजो स्वतन्त्र भएको किरात राज्य, लिम्बुवान राज्य, ताम्सालिङ राज्य, खसान राज्य र थरुहट राज्यमाथि हस्तक्षेप गरे । यही राज्यमा बसेर यही राज्यको उब्जनी खाएर हिन्दुहरुले आफ्नाे वृत्ति विकास गरे । राज्यको ठूलो ओहदामा पुगे । तर ती हिन्दु धर्मावलम्बीहरु आज तिनै इतिहासमा छोपिएका राष्ट्रियताहरुको नाममा प्रदेश नामाकरण गरौ न भन्दा जातीय राज्य हुन्छ भनेर मान्दैनन् । त्यसैले कांग्रेस र नेकपा पृथ्वीनारायण शाहका सच्चा उत्तराधिकारी हुन् भन्ने प्रमाणित हुन्छ । यहाँका आदिवासीहरुले गौरवशाली इतिहासलाई बचाउन खोज्नु अनौठो होइन, कुनै आदिवासीले नेपाल टुक्र्याउँछु भनेको पनि छैन ।

निष्कर्ष

नेपालको इतिहास सत्यताको आधारमा पुनर्लेखन गर्नुपर्ने आवश्यकता छ । त्यो इतिहास देशप्रति, जनताप्रति इमान्दार इतिहासकार, मानवशास्त्री, समाजशास्त्री र भाषाशास्त्रीहरुले मिलेर लेख्न आवश्यक छ । नेपालको संविधान २०७२ ले नेपाल राष्ट्र धर्मनिरपेक्ष घोषणा गरेको छ । तर, यहाँका हिन्दुवादी भनाउँदाहरुले ८० प्रतिशत जनता हिन्दु छन् भन्ने हवाला दिन्छन् । यो झुटो कुरा हो । यहाँ हिन्दु धर्म मान्नेहरु क्षेत्री र बाहुन जाति मात्र हुन् । उनीहरुको जनसंख्या जम्मा २८ प्रतिशत मात्र हो । त्यसमा पनि कर्णालीमा केही प्रकृतिपुजक खसहरु छन् । जसलाई मष्टपुजक पनि भनिन्छ र मतवाली भनेर पनि चिनिन्छ । नेपालमा बौद्ध धर्म मान्ने छन् या प्रकृतिपुजक किरातहरु छन् । मधेस क्षेत्रमा केही मुस्लिम धर्म मान्ने जनता पनि छन् । हिन्दु धर्मावलम्बी मधेसीहरु पनि छन् तर कसरी पुग्छ ८० प्रतिशत ? यसमा पनि राज्यको षडयन्त्र छ । जनगणनामा सबै गणकहरु हिन्दु नियुक्ती गरिन्छ र गणकहरुले अरु धर्मावलम्बीहरुलाई पनि हिन्दुको सूचिमा राखिदिन्छन् ।
नेपाल राज्यको संस्थापक यलम्बरहाङको बारेमा या यलम्बरलाई न्याय हुने गरी लेखिएको इतिहास नै भेटिदैन । जसले यो मुलुकको स्थापना गर्यो त्यसको बारेमा राज्य नै मौन छ । किनभने आज नेपाल राज्य सरकार चलाउनेहरु पृथ्वीनारायण शाहकै पृष्ठपोषकहरु छन् । यलम्बरका सन्तानहरु लाखापाखा पारिएका छन् । किरात सभ्यताको उच्चारण गर्न नचाहनेहरुको राज्यमा बोलवाला छ ।

नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेपछि अब देश र नेपाली जनतालाई न्याय गर्नको निम्ति, इतिहासलाई गौरवपूर्ण बनाउनको निम्ति यो मुलुक बनाउने महापुरुषहरुको न्यायिक इतिहास लेख्ने दिन आएको छ । त्यसमा यलम्बरलाई इतिहासमा कुन स्थान दिनुपर्ने, कला र कौशलको स्वर्णिम युग मानिने मल्लकाललाई कसरी सम्बोधन गर्नुपर्ने भन्ने हेक्का राख्नुपर्छ । पृथ्वीनारायण शाहलाई कति प्राथमिकता दिएर लेख्नुपर्ने हो स्वतन्त्र इतिहासकारहरुले लेख्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । जुन अहिले नेपालको इतिहास भनिएको छ त्यो हिजो पृथ्वीनारायण शाहको तर्फबाट उनलाई देवत्वकरण गरेर लेखिएको हो । अरु जातिहरुलाई होच्याएर लेखिएको छ । अरु जातिहरुको योगदानको चर्चा नै गरिएको छैन । कुनै ठाउँमा गरेको भए पनि नकारात्मक टिप्पणी गरिएको छ । त्यसकारण हरेक नेपाली त्यो इतिहास पढेर आफ्नाे गौरव गर्ने ठाउँ छैन । जुन दिन आम नेपालीले पढेर गौरव गर्ने इतिहास लेखिन्छ, त्यो दिन राष्ट्रिय एकता झन् बलियो हुन्छ । www.sarbajanik.com बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *