सत्यहाङ संस्कार सतप्रतिशत सही छैन तर पनि जनगणनामा किरात धर्म लेखाऔ

– विश्वासदिप तिगेला

धर्म स्वेच्छिक हो, सामान्य हो, धर्म माने पनि हुन्छ नमाने पनि हुन्छ । त्यो भन्दा ठूलो संस्कार हो । मौलिक संस्कार जोगाए त्यो नै पहिचान हो, त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मत आएको छ । यसमा मेरो टिप्पणीः धर्म सामान्य कुरा हो भन्ने हो भने हिन्दुको संख्या ८१.३ प्रतिशत हुँदा नै हिन्दु राज्यको माग किन उठेको छ ? हिन्दु धर्मको पवित्र जनावर गाई वा गोरु काटेको निहुमा किन बर्षौबर्ष जेल गइरहेका छन् किरात/गैरहिन्दुहरु ? बंगलादेशमा १० प्रतिशत हिन्दु छन् । त्यहाँ गाई वा गोरु काट्दा जेल जान पर्दैन किन ? यी दुई उदाहरणमाथि गहिरिएर सोच्नु भएमा धर्म के हो, किन आवश्यक छ र धर्मको संख्या किन ठूलो चाहिन्छ भन्ने प्रष्ट हुँदैन र ?

नेपालमा बर्णाश्रम ब्यवस्था नहुनु र पंचायत कालमा नेपाल हिन्दु अधिराज्य नहुनु हो भने अहिले नेपालका शासक को हुन्थे होला ? मानौः नेपाल बुद्धिष्ट मुलुक भएको भए शासक को हुन्थे होलान् ? नेपाल मुस्लिम मुलुक भएको भए, प्रधानमन्त्री, मन्त्री, मुख्य–सचिव (शासक) को को हुन्थे होलान् ? त्यसैले बुझ्नुपर्ने कुरा राज्य शक्तिको मुख्य स्रोत धर्म हो । यसर्थ, धर्म छैन र भएको धर्म पनि समुन्नत र संमृद्ध छैन भने राज्य शक्तिमाथि तपाईको सामथ्र्य पुग्न सक्दैन । धर्म स्वेच्छिक भए पनि मुख्य मेरुदण्ड हो नत्र किन अनेक मनोविज्ञान सहित करोडौ डलर खर्च गरेर किश्चियनहरुले धर्म विस्तार गरिरहेका छन् ? किन हिन्दुहरुले ओम शान्ति, साई भक्त आदिआदि अनेक रुपमा विस्तार गरिरहेका छन् ? नेपालको राज्यसत्ता किन करोडौ खर्च गरेर मन्दिरहरु बनाइरहेका छन् ?

धर्म अनुसाशन अर्थात कोठेबारीको बार हो । बार नभए कोठेबारीको तुलफूल कुखुरा, बाख्राले खाइदिन्छ । मौलिकता भन्दै मानवीय आदत भित्र पर्ने माङहिम निर्माण, मूर्ति पुजन र धर्मको सिमाबन्धनमा बस्न र राख्न नसके कुनै पनि बेला ढिलोचाडो अरु धर्मले प्रभाव पार्नेछ र लैजाने छ । त्यसैले मौलिकता भन्दै भौतिक रुपबाट देख्न, छुन र अनुभूत गर्न सक्ने संरचना बनाउन सकेनौ, संस्थागत गर्न सकेनौ भने आफै बिलाएर जान सक्छौ । यसरी समय सापेक्ष धर्म, संस्कार विकास र परिवर्तन हुन नसक्दा विश्वका धेरै आदिम जाति मासिदै गएका छन् ।

धर्मशास्त्र मुन्धुममा किरात शब्द नभएकोले याक्थुङ किरात होइन्न, किरात धर्म भन्नु सहि होइन कि भन्ने तर्क गर्नु अस्वभाविक होइन तथापि याक्थुङ (लिम्बु) जाति विभिन्न राष्ट्रियताबाट बनेको जाति हो । याक्थुङ भित्रका केही किरात नहुन पनि सक्छन् किनकि याक्थुङभित्र चोक्फूङ संस्कार छ र त्यो चोक्फुङ गरेर अन्य जातिलाई पनि याक्थुङ बनाउने संस्कार रहेको छ । तर आमरुपमा याक्थुङहरु किरात हुन् । मुन्धुम आफैमा एक धर्मशास्त्र तथा धर्मकथा हो । कथा सत्य पनि हुनसक्छ, सत्य नहुन पनि सक्छ । मुन्धुम स्थान परिवेश अनुसार भिन्नभिन्नै पनि पाइन्छ । कुन मुन्धुमलाई आधार मान्ने ? अलिखित मुन्धुमलाई प्राज्ञिक हिसाबले आधार मान्न मिल्दैन पनि । लिखित मुन्धुम अत्यन्तै थोरै छ अर्थात अलिखित नै छ भन्न सकिन्छ । त्यसैले मुन्धुम अकाट्य होइन ।

मुन्धुममा किरात भेटिएन भन्दैमा किरात होइनौ भन्न मिल्दैन । उसो त हिन्दुको गीता, रामायण र महाभारत भित्र पनि हिन्दु लेखिएको भेटिदैन । के त्यसो भए हिन्दु (शब्द) धर्म होइन, हुन सक्दैन भन्ने ? नाम आफै राखिन्छ वा अरु कसैले पनि राखिदिन्छन् । किरात शब्द हिन्दु शास्त्र र इतिहासका पुस्तकहरुमा उल्लेख भएको पाइयो भन्दैमा किरात होइन भन्नु न्यायसंगत अवश्य होइन ।

लिम्बुवान राज्य पूर्नस्थापनाको आन्दोलनले सधै लिम्बुवानकै कुरा गर्याे । सधै लिम्बुवानकै मात्र कुरा गर्न सिकायो । हिजो खम्वुवानलाई किरात राज्य भनी प्रस्तावित नामाकरण गरिनु खम्बु मात्र किरात हो भन्ने अर्थ लाग्दैन । अहिले पूर्वको १४ जिल्ला किरात प्रदेश हुनसक्छ भनी चर्चा चलिरहदा किरात खम्बु, किरात याक्थुङ लगायत सबै अटाउन सक्ने विरासत हो । देशको राजनैतिक उथलपुथलले अहिले किरात राज्य नामाकरण गर्न सकियो भने भोलि लिम्बुवान बनाउन सकिने सम्भावना रहन्छ ।

तर, अहिले कोशी वा सगरमाथा प्रदेश भएको खण्डमा पहिचानको मुद्दा पूर्णरुपमा टर्न सक्छ र लिम्बुवान पनि हुन सक्दैन र खम्वुवान पनि हुन सक्दैन तसर्थ यसलाई पनि ख्याल गर्न आवश्यक छ । उसो त किरात धर्म भनी याक्थुङहरुकै बाहुल्यता तथा याक्थुङ भाषाको मुन्धुम मार्फत बढि विस्तार र विकास भईरहेको छ । किरात धर्म भनी नेपालमा स्पष्ट पहिचान आएको छ । किरात धर्मालम्बीहरुले सुसभ्य संस्कार विकास गर्दै आएका छन् । जसले समाजलाई ठूलो परिवर्तनको बाटोमा डोर्याइरहेको छ । यो आफैमा गर्व गर्न लायक प्रगति हो ।

किरात भन्ने वित्तिकै राई जाति, किरात धर्म भन्ने वित्तिकै इलामको लारुम्बाको सत्यहाँङ संस्कार मात्र बुझ्नुले यदाकदा समस्या थियो । तर, अब किरात भन्नाले लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, हायू लगायत समग्रमा किरात भन्ने प्रष्ट भइसकेको छ । र किरात धर्मभित्र परम्परागत (धर्म), सत्यहाँङ, स्वर्गिक मार्गी, माङहिम बनाउनुपर्छ भन्ने युमा र माङहिम बनाउनुहुन्न भन्ने युमा, मुन्धुममा विश्वास गर्ने मुन्धुमवादी लगायत सबैसबै किरात धर्म भित्र पर्दछ भन्ने बुझाइ वैज्ञानिक र ब्यवहारिक हो भन्ने मान्यता स्थापित भएको छ ।

किश्चियनभित्र क्याथोलिक, प्रोटिष्टेन, अर्थडक्स भने झै बुद्धिष्टि भित्र महायानी, बज्रयानी र थेरावादी हिनयानी भने जस्तै किरातभित्र पनि सत्यहाँङ, युमा, मुन्धुम, स्वर्गिक मार्गी र परम्परागतवादी सबैलाई अटाएर बुझ्नुपर्ने हुन्छ । मौलिकताको अवलम्बनु गर्नु परम्परागतवादी विश्वास (धर्म) हो । धर्मको संस्कारहरु पनि समय सापेक्ष हुँदै जान्छ र जानुपर्छ भन्ने मान्यता राख्नु पर्दछ । विश्वका मुख्य धर्महरुले पनि समयको आवश्यकता अनुसार संस्कारहरुमा परिवर्तन गर्दै आएका हुन्छन् ।

किरात धर्मको रुपमा सत्यहाङ अर्थात लारुम्बाको संस्कार मात्र बढी चिनिए पनि परम्परागत, हिंसा वा हिंसारहित लगायतको संस्कारलाई किरात धर्मको संस्कारको रुपमा लिनुपर्दछ । लारुम्बाको केही संस्कारहरुमा धेरैका विमतिहरु पनि रहेका छन् । त्यसलाई ख्याल गर्दै मौलिकता ल्याउन सुधारको निम्ति पहल गर्नुपर्दछ । आउदो जनगणनामा धर्मको महलमा किरात लेखौं भन्नुको अर्थ लारुम्बाको सत्यहाङ संस्कार शतप्रतिशत सहि हो भन्न खोजिएको पक्कै होइन । लारुम्बाको संस्कारहरुमा सुधार, विकास र विस्तारको निम्ति पनि ठूलो आवाज गुञ्जिरहेको छ । र, मुन्धुम वा युमा भनिए पनि यी सबै किरात भित्र अर्थात सत्यहाङ मुन्धुमभित्र एक हिस्साको रुपमा सुरक्षित छँदैछ । किरात धर्म भन्ने वित्तिकै युमा पनि स्वतः समेटिन्छ ।

किरातजन्य संस्थाहरु किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याख्खा छुम्मा, नेपाल थामी समाज, जिरेल संघ नेपालका केन्द्रीय नेतृत्वहरुले १५ असार २०६५ का दिन काठमाडौंमा सामुहिक रुपमा भेला भई सम्पूर्ण किरातहरुको धर्म किरात भनेर घोषणा गरिसकेको अवस्था आफैमा सुखद छ । नेपालभित्र रहेका करिब १२ लाख किरातहरु सबैले आफ्नो धर्म किरात लेखाएको खण्डमा प्रदेश १ को नामाकरणदेखि विभिन्न सेवा सुविधामा पनि उल्लेख्य अवसरहरुको निम्ति राज्यबाट मागदाबी गर्न सकिन्छ । जुन सुखद हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *