सोम, जेष्ठ ६, २०७६

विमानस्थलमा ३३ किलो सुनसहित तीन पक्राउ

Published on २१ पुष २०७३, बिहीबार २१:१८ | by किरातसंसार

gold

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलको प्रवेशद्वार, गोल्डेन गेटबाट बाहिरिन लागेको अवस्थामा करिब ३३ किलो अवैध सुन बरामद गरेको छ । एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको उक्त सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लगिँदै थियो ।

युएईबाट सुन लिएर आएका गोपालबहादुर शाही भाडाको ट्याक्सीमा सुन बोकेर गन्तव्यतर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा सुन फेला परेको हो । ब्युरो टोलीले शाहीलाई पक्रेपछि उनले नै सुनको जिम्मा लिने भनिएका दुई व्यक्तिलाई बोलाएका थिए । निजी कार हाँकेर मोरङका दिनबन्धु थापा र धनुषाका सन्तोष काफ्ले शाहीले ल्याएको सुन लिन पुगेका थिए । त्यहीवेला उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२ सय ४४ वटा दस तोलाको बिस्कुट, १८ वटा सिक्री र ११ वटा औंठी प्रहरीले बरामद गरेको छ । दुई फरक–फरक लगेजभित्र प्लास्टिकले ¥याप गरेर ल्याइएको सुन जम्मा ३३ किलो रहेको ब्युरोको डिआइजी नवराज सिलवालले बताए ।

‘भन्सारको नियमित सुरक्षा घेरा पार गरेर त्यतिका परिणाममा सुन कसरी बाहिर आयो भन्ने प्रश्न उठेको छ,’ उनले भने । सिलवालले विदेशबाटै आएको सुराकीको आधारमा सुन पक्राउ परेको बताउँदै भने, ‘अवैध कारोबारीमाथि थप अनुसन्धान हुँदै छ ।

पक्राउ परेका शाहीले विमानस्थलका अधिकारीको सेटिङमा सुन ल्याएको प्रहरीसमक्ष बताएका छन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लगेजबाट २६ वटा सुनका बिस्कुट बरामद गरिएको छ । अरू ¥‍याप गरिएको अवस्थामा पनि सुन रहेको सिलवालले बताए ।

अर्को लगेजबाट पनि सुन बरामद भएको डिआइजी सिलवालले बताए । पक्राउ परेका शाही भरिया भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । युएईबाट नेपाल आउनेलाई सुन पठाउने गिरोह नै सक्रिय रहेको प्रहरीले दाबी गरेको छ । सुन बोकाएर पठाउने, भरियाको फोटो खिचेर नेपालस्थित एजेन्ट पठाउने र नेपालस्थित एजेन्ट विमानस्थलमा पुगेर सुन लिने गरेको प्रहरीले बताएको छ ।’ सुन बोकेबापत भरियालाई केही आर्थिक प्रलोभन दिने गरेकोे जानकारी पाएको’ सिआइबीले जनाएको छ ।





Back to Top ↑