बुध, साउन ८, २०७६

यसरी बन्दैछ तयामा–खियामा र रैछाकुलेको मूर्ति

Published on १२ मंसिर २०७३, आईतवार १७:१३ | by किरातसंसार

काठमाडौं । गत ४ भदौंमा किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको चित्र सार्वजनिक गरियो । चित्र सार्वजनिकसँगै तयामा–खियामा–रैछाकुले प्रतिमा स्थापना समितिले टी–सर्टपनि बिक्रीका लागि ल्यायो । टी–सर्टमा तीनै किराती पुर्खाको चित्र अंकित थियो ।
पहिलो पटक यी तीन किराती पुर्खाको चित्र अंकित टी–सर्ट सबैले रुचाए । रातारात टी–सर्टको माग बढ्न थाल्यो । र, सीमित परिमाणको टी–सर्टको अभाव सिर्जनासमेत भयो । यतिमात्रै समितिले तीन किराती पुर्खाको प्रतिमा (मूर्ति) बनाउनसमेत जुटेको छ । यी तीन किराती पुर्खाको मूर्ति कस्तो बन्दैछ र कहाँ स्थापना गरिँदैछ, यसै विष्यामा समितिका संयोजक ज्ञान(गेन) राईसँग किरातसंसारले कुराकानी गरेको छ । हेरौं उहाँको भनाई जस्ताको तस्तैः

gyan_gen_rai

मूर्ति स्थापनाको एजेन्डा

हामी केही आठौं सम्मेलनदेखि किरात राई यायोक्खाको केन्द्रीय कार्य समितिमा प्रवेश गरेका हौं । हरेक नयाँ कार्यकालले केही न केही नयाँ काम गर्ने उद्देश्य हुन्छ । हामीअघिका सुमाया राईको नेतृत्व पालामा घरजग्गा व्यवस्थापन गरियो । चतुरभक्त राईको नेतृत्व पालामा बृहत किरात अन्तर्राष्ट्रिय सम्मेलन भयो । यस्तै हाम्रो पालामा पनि केही नयाँ गर्नुपर्ने सोच थियो ।

यसैले धरानमा सम्पन्न यायोक्खाको केन्द्रीय पूर्ण बैठकमा मलगायतका साथीहरुले किराती तीन पुर्खा तयामा, खियामा र रैछाकुलेको मूर्ति स्थापनाबारे कुरा राख्यौं । त्यहाँ यस कुराले प्रवेश पायो र सबैबाट सकारात्मक प्रतिक्रिया आयो ।

समिति गठन र आर्थिक संकलन

धरानको बैठकपछि तयामा–खियामा–रैछाकुले प्रतिमा स्थापना समिति गठन भयो । यसको संयोजक मै हुँ । अहिले सात सदस्यीय समिति बनेको छ ।

प्रतिमा स्थापनाका लागि अर्थ जुटाउने काम यस समितिले गरिरहेको छ । हामीले विभिन्न माध्यममार्फत् सहयोगदातासमक्ष अपिल गरिरहेका छौं । ४५ लाख हाराहारी खर्च हुने देखिएको छ । २९ लाख हाराहारीमा दाताले प्रतिबद्धता गरेका छन् ।

मैले व्यक्तिगत रुपमै पनि साथीहरुसमक्ष कुरा राखेको छु । विशेषगरी खोटाङ सेवा समाज, हङकङका तेजबहादुर राई र दुबईमा रहनु हुने वीरबहादुर राई दिलैदेखि सहयोग संकलनमा लागिरहनु भएको छ ।

मूर्ति स्थापना सुरु

अहिले हामीले मूर्तिकार रोजन राई र धन याक्खालाई मूर्ति बनाउने जिम्मा दिएका छौं । उहाँहरुले बनाइरहनु भएको छ । पूर्णकदको छ फिट अग्लो मूर्ति बन्दैछ । तीन पुर्खाको मूर्ति अलग–अलग स्थानमा राखिनेछ । हलेसीस्थित महादेवस्थान–१ मा पर्ने तुवाचुङ–जायजुङ डाँडामा मूर्ति स्थापना गरिनेछ । किनभने यी डाँडासँग ऐतिहासिक कथासमेत जोडिएको छ ।

साथै, मूर्ति स्थापना गर्न लागिएको ठाउँ हलेसी, महादेवस्थान, सल्ले र धितुङ गाविसको संगमस्थल पनि रहेकाले विशेष महत्व छ । मूर्तिलाई तल सडकबाट पनि सहज रुपमा देख्न सकिने गरी राख्न लागिएको छ । यसलाई आउँदो २०७३ सालको उभौलीमा उद्घाटन गरिनेछ ।

तयामा–खियामा र रैछाकुलेको कथा

Tayama_Khiyama_Raichhakule_kiratsansar

किराती लोकोक्तिमा आउने कथाअनुसार तयामा, खियामा र रैछाकुलेले किराती सभ्यताको सुरुवात गरेको मानिन्छ । उनीहरुले सिकारी युगहुँदै कृषि युगको सुरुवात गरेको जनविश्वास छ । साथै, रैछाकुलेले किराती समुदायमा विवाह संस्कार भित्राएको मानिन्छ ।

सामाजिक विश्वासअनुसार यी तीन पुर्खाको सम्बन्ध हालको खोटाङ जिल्लास्थित महादेवस्थान गाविसअन्तर्गत पर्ने तुवाचुङ–जायजुम डाँडा र हलेसी गुफासँग छ । यस डाँडामा तयामा र खियामाले कपडा बुनेका थिए । उनीहरुले कपडा बुन्ने तान ढुंगा अहिले पनि अवस्थित छ । उनीहरु दिदीबहिनी थिए ।

मुन्धुमअनुसार उनीहरुले हलेसी गुफामा बास बस्थे । यसैले हलेसी र तायाचङ–जायजुम डाँडालाई सांस्कृतिक महत्वका महान स्थलको रुपमा लिइन्छ ।

रैछाकुलेचाहिँ जालले कोशीमा माछा मार्ने, कनुकाँडले सिकार खेल्ने गर्थे । यी तीनै जना पिता पातेसुङ आमा मामाका सन्तान रहेको मुन्दुमी कथा पाइन्छ । यिनीहरुले किराती जातिलाई जंगली युगबाट खेतिपाती र सभ्य जीवनमा प्रवेश गराएको मानिन्छ ।

यो पनि पढ्नुहोस्

नयाँ प्रयोगसहित तयामा-खियामा र रैछाकुलेको चित्र सार्वजनिक

लिमचिङबुङ : एक नयाँ प्रचलनको सुरुवात

यसरी सम्भव भयो तीन किराती पुर्खाको चित्र

समाज विकास र किराती तीन पुर्खा





Back to Top ↑