बुध, अशोज १, २०७६

प्रचण्ड, रामप्रसाद राईका उत्तराधिकारी हुन्!

Published on १५ माघ २०७३, शनिबार १६:०६ | by किरातसंसार

ramprasad rai bg

रामप्रसाद राई राष्ट्रिय विभूति हुन्

मैले रामप्रसाद राईलाई पुस्तकमा आफ्नो तर्फबाट राष्ट्रिय विभूति भनेर सम्बोधन गरेको छु । यसकारण प्रधानमन्त्रीको हैसियतले उहाँ (रामप्रसाद राई)लाई राष्ट्रिय विभूतिका रुपमा राज्यका तर्फबाट सम्मानित गर्न पहल हुने विश्वास दिलाउन चाहन्छु ।

राणा शासनको निरंकुशताविरुद्धको लडाईमा पहिलो र दोस्रो विश्वयुद्धका तमाम अनुभव, विश्वभरि चलेका क्रान्ति र परिवर्तनको लहरलाई नेपालमा ल्याउने अग्रजको रुपमा र नेपालबाट सामन्तवादी युगको अन्त्य गरी गणतन्त्रवादी युगमा देशलाई लैजाने विद्रोहीका रुपमा र एउटा उत्पीडित वर्ग समुदायको उन्मुक्तिको निम्ति अगाडि बढ्ने योद्धाको रुपमा पनि रामप्रसाद राई नेपाली इतिहासमा कहिले नअस्ताउने गरी उदाएको महसुस गरेको छु ।

रामप्रसाद राईको एउटा उत्तराधिकारीको रुपमा माओवादी जनयुद्धको नेतृत्व गरेको ठान्छु । जनयुद्धको तयारी गर्दा इतिहासका पन्नाहरुलाई जोड्ने र सबै क्रान्तिकारी योद्धाका योगदानलाई जोड्ने जमर्को गरेपछि जनयुद्धको सुरुवात गरिएको थियो ।

२००७ सालको विद्रोह र रामप्रसाद राईले अन्तिममा लडेको लडाई, त्यसपछि झापामा गरिएको विद्रोह सामन्तवाद र निरंकुशतन्त्रविरुद्ध थिए । र, यसपछि पनि थुप्रै आन्दोलनको विकसित कडीको रुपमा मैले माओवादी जनयुद्ध (जसमा हजारौंको बलिदानी भयो) र जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ठाउँमा ल्याइपुर्यायो । यी सबै रामप्रसाद राईको विद्रोहदेखि झापा विद्रोह, रामराजाप्रसाद सिंहले गणतन्त्रका लागि गरेका विद्रोहदेखि सबै–सबै विद्रोहको पछिल्लो कडीको विकसित रुप (माओवादी जनयुद्ध) ठान्छु । र, मैले रामप्रसाद राईको एउटा उत्तराधिकारीको रुपमा माओवादी जनयुद्धको नेतृत्व गरेको ठान्छु ।

मलाई गर्व छ, जतिबेला मैले आफू नेतृत्वमा जनयुद्धको तयारी गर्दै थिएँ, मैले इतिहासका पन्नाहरुलाई जोड्ने र सबै क्रान्तिकारी योद्धाका योगदानलाई जोड्ने जमर्को गरेपछि, नेपाली जनता क्रान्ति र परिवर्तनका निम्ति कति हदसम्म बलिदान गर्न तयार छन् भन्ने लेखाजोखा गरेपछि नै जनयुद्धको सुरुवात गरिएको थियो ।

मानिसहरुलाई त्यति धेरै विश्वास थिएन, यो युद्ध कति हदसम्म अगाडि जाला या नजाला? कहाँ गएर टुंगिएला? थुप्रै–थुपै प्रश्नहरु थिए । तर, हामीलाई आत्मविश्वास थियो । इतिहासमा भएका तमाम विद्रोहहरु विगत ऐतिहासिक कालका नेपाली जनता विद्रोह, क्रान्ति र परिवर्तनका निम्ति बलिदान गर्न कतिसम्म तयार छन् भन्ने अंग्रेजसँगको लडाईदेखि नेपालभित्रै आन्तरिक स्वतन्त्रताको लडाईंका कडि जोड्दाखेरि हामीले गणतन्त्रसम्म यसलाई लैजान सकिन्छ भन्ने विश्वासका साथ सुरु गरेका थियौं । अहिले हामीले केही सफलता प्राप्त गर्यौ । नेपालमा क्रान्ति पूर्णतः सफलतासम्म जान नसक्ने, कहिँ न कहिँ बीचमै सम्झौता गर्नुपर्ने बाध्यता भनौं या परिस्थितिहरु जे छन् ।

मलाई लाग्छ, आज रामप्रसाद राईको पुस्तक विमोचन गर्दैगर्दा विगतमा भएका तमाम विद्रोह र आन्दोलनमा भएका बलिदानलाई स्मरण गर्दा यस पाटोलाई पनि संश्लेषण गर्नैपर्ने हुन्छ र नयाँ निष्कर्षसहित फेरि नयाँ अभियानमा हामी बढ्नु पर्छ । यसको निम्ति इतिहासका यी वीर–वीरंगनाको सम्मानले हामी आफैलाई र आउने पिंढीको निम्ति एउटा नयाँ इतिहास कोर्न प्रेरणा मिल्दछ । यसकारण यो अर्थपूर्ण र बौद्धिक छ ।

कोशी कोरिडोर रामप्रसाद राई राजमार्ग सही

केही समयअघि प्रधानमन्त्रीकै रुपमा कोशी कोरिडोर संखुवासभाको सदरमुकामदेखि किमाथांकासम्म पुगेर आएँ । यसकारण कोशी कोरिडोरलाई रामप्रसाद राई राजमार्ग राख्ने कुरा इतिहास र व्यक्तिप्रति सम्मान हुन्छ । यसकारण यस कुरालाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउने पहल लिने विश्वास दिलाउन चाहन्छु ।

ऐतिहासिक व्यक्तित्वबारे विद्यार्थीलाई प्रशिक्षित उचित

यस्ता ऐतिहासिक व्यक्तित्वबारे पाठ्यपुस्तकमा विषय राखिनु सही छ । यसका निम्ति सबै पक्षसँग र सम्बन्धित निकायमा विषय प्रवेश गराएर यस्ता व्यक्तित्वबारे पाठ्यपुस्तकमा छिराएर हाम्रा विद्यार्थीलाई प्रशिक्षित गरिनु उचित हुन्छ ।

रामप्रसाद राईजस्ता पात्रहरु कतिपय इतिहासको चिहानबाट खोतलेर ल्याउनुपर्ने आवश्यकता हुँदो रहेछ । सात सालकै परिवर्तन वरिपरि पश्चिम नेपालमा एकजना कामी बूढालाई बिर्साइयो । भीमदत्त पन्तलाई पनि धेरै वर्षसम्म बिर्साउने कोशिस भयो ।

कहिलेकाहीँ इतिहासमा क्रान्तिकारी परिवर्तनका निम्ति राष्ट्र र जनताको उन्मुक्तिको निम्ति बलिदान गर्ने पात्रहरु राज्यले दबाउने, बेवास्ता गर्ने र बिर्साउने कोशिस गर्ने घटना इतिहासमा अरु देशमा भएका छन् । यस्तो नेपालमा पनि भइरहेका छन् । र, अवसरवादी प्रकृतिका मान्छेहरु जसले क्रान्ति र परिवर्तनमा साँचो अर्थमा योगदान गरेका होइनन्, त्यस्ता मानिस सम्मानित हुने नकारात्मक उदाहरण नेपालको इतिहासमा पनि छन् ।

तर, आज फेरि रामप्रसाद राईलाई नेपाली समाजमा उहाँको योगदानलाई स्थापित गर्ने जमर्कोले त्यसखाले नकारात्मक प्रकृति र अवसरवादमाथि क्रान्तिकारीहरुको विजय र जनताको विजय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।

यस्तै, पात्रहरु कतिपय इतिहासको चिहानबाट खोतलेर ल्याउनुपर्ने आवश्यकता हुँदो रहेछ । सात सालकै परिवर्तन वरिपरि पश्चिम नेपालमा एकजना कामी बूढालाई बिर्साइयो । जसले निस्वार्थ भावले क्रान्तिका निम्ति बलिदान गर्नुभयो । यस्तै, भीमदत्त पन्तलाई पनि धेरै वर्षसम्म बिर्साउने कोशिस भयो । भीमदत्त पन्तले साँच्चै जनवादी क्रान्ति सामन्तवाद र साम्राज्यवादविरुद्ध समर्पण गर्नुभयो । तर, राज्यले अत्यन्तै अपमानित र क्रुर ढंगले हत्या गर्यो । यस्ता पात्रलाई सम्मानित गर्ने कुरा निकै नै जिम्मेवारीपूर्ण कुरा हो जनता र क्रान्तिकारीको ।

(गत ८ माघका दिन भोगीराज चामलिङद्धारा तयार पारिएको ‘रामप्रसाद राई…’ पुस्तक विमोचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको मन्तव्यको सम्पादित अंश । स.)





Back to Top ↑