सोम, जेष्ठ ६, २०७६

पुरानो तिक्तता बिर्सदै जापानी प्रधानमन्त्री आबे अमेरिकाको पर्ल हार्बरमा

Published on १३ पुष २०७३, बुधबार १९:४५ | by किरातसंसार

920x920

होनोलुलु (अमेरिका) । अमेरिका र जापानबीचको ७५ वर्ष लामो तीक्ततालाई अन्त्य गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाई राज्यस्थित पर्ल हार्बरको मंगलबार भ्रमण गरेका छन् । सन् १९४१ डिसेम्बर ७ मा पर्ल हार्बरमा जापानद्वारा गरिएको आक्रमणमा २ हजार ३ सय अमेरिकी नौसेनाको मृत्यु भएपछि अमेरिका द्वितीय विश्वयुद्धमा उत्रिएको थियो ।

जापानी प्रधानमन्त्री पर्ल हार्बरमा पुग्दा अमेरिकी राष्ट्रपतिले उनलाई साथ दिएका थिए । युद्धपछि बिग्रिएको सम्बन्धलाई पूर्व शत्रुको भ्रमणपछि सुधार आउने र यसअघिका दुई देशलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउने जापानी सरकारले बताएको छ । जापानको उच्च नेताका रूपमा आक्रमणको ९ वर्षपछि जापानका पूर्व प्रधानमन्त्री शिगेरु योसिदाले सन् १९५१ मा पर्ल हार्बरको छोटो भ्रमण गरेका थिए ।

उक्त स्थानमा दुवै देशका राष्ट्रप्रमुखले एकै पटक भ्रमण गरी उक्त घटनामा ज्यान गुमाउने अमेरिकीप्रति श्रद्धाञ्जली व्यक्त गर्ने अवसर भने जुरेको थिएन । जापानी प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिसहित पर्ल हार्बरस्थित स्मारकमा पुगेर हमलामा मारिएका मानिसप्रति सम्मान व्यक्त गर्नेछन् ।

आबेले पर्ल हार्बरमा जापानी आक्रमण भएको घटनामा क्षमा याचना भने गरेनन् तर, भविष्यमा आणविक हतियारबाट स्वतन्त्र रहन जापानको प्रतिबद्धता भने जनाए । करिब ६ महिना पहिले अमेरिकी राष्ट्रपतिका रूपमा राष्ट्रपति ओबामाले अमेरिकाद्वारा जापानको हिरोसिमा र नागासाकी सहरमा आक्रमण गरी करिब दुई लाख मानिसको मृत्यु हुने गरी गरेको आक्रमणस्थलको पनि भ्रमण गरेका थिए ।

ओबामाले पनि हिरोसिमा भ्रमणका क्रममा आक्रमणप्रति क्षमा याचना भने गरेका थिएनन् । आबेको अमेरिका भ्रमणबारे अमेरिकी राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्रीबीच गत महिना पेरुमा आर्थिक सम्मेलनको सेरोफेरोमा हस्ताक्षर भएको थियो ।

यसैबीच, चीनले आबेको पर्ल हार्बर भ्रमणलाई लिएर हमलाको दोषबाट मुक्त हुन गरिएको एउटा निष्ठाहीन प्रयास भएको भनी प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले ‘आफ्नो नियमित सञ्चारकर्मीसँगको भेटमा भने, भ्रमण जापानले दोस्रो विश्वयुद्धका बेला गरेको अपराधको ऋण चुकाउने प्रयास भए पनि जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराध उसले चीनलगायत दोस्रो विश्वयुद्धबाट पीडित अन्य एसियाली राष्ट्रसँग पुनःमिलन नगर्दासम्म उक्त अपराधबाट उन्मुक्ति मिल्ने छैन ।’

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओमाबाले जापानी प्रधानमन्त्री सिन्जो आबेको यो भ्रमणलाई ‘ऐतिहासिक संकेत’ भएको यसबाट शक्ति पुनर्मिलनतर्फ गएको देखाएको बताएका छन् । पर्ल हार्बरस्थित अमेरिकी नौ सेनाको केन्द्रमा आयोजित यस कार्यक्रममा जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति ओबामा एक साथ उपस्थित भएका थिए ।

पर्ल हार्बरमा यसप्रकार एक साथ अमेरिकी र जापानी नेताहरूको भ्रमण यो पहिलो पटक हो । सन् १९४१ का जापानले पर्ल हार्बरमा गरेको आक्रमणमा परी करिब दुई हजार तीन सय अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

प्रधानमन्त्री आबेले ७५ वर्षअघि आफ्ना मुलुकले आक्रमण गरेको सो स्थानको भ्रमण गर्दै उक्त आक्रमणको क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री आबेले युद्धको त्रासदी अल कहिल्यै दोहोरिनुहुन्न भन्ने जापानी जनताले कसम खाएको बताए ।

जापानको यस आक्रमणपछि सन् १९४५ मा अमेरिकाले जापानी सहरहरू हिरोसिमा र नागासाकीमा आणविक आक्रमण गरेको थियो । सो आक्रमणहरूमा डेढ लाख व्यक्ति मारिएको विश्वास गरिन्छ । यो सहरको भ्रमण गर्ने पहिलो वाहालवाला राष्ट्रपति बाराक ओमाबा थिए । एपी





Back to Top ↑