सोम, जेष्ठ ६, २०७६

परिमार्जनसहित संशोधन विधेयक पारित गर्न संघीय गठबन्धनको आह्वान

Published on २७ पुष २०७३, बुधबार १९:१७ | by किरातसंसार

gathabandhan-baithak

काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले परिमार्जनसहित संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ । संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत पु¥याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न गठबन्धनले सरकारलाई पनि आग्रह गरेको छ ।

संघीय समाजवादी फोरमको मुख्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धन बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जनसहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको दोह¥याएको हो । सर्वोच्च अदालतले संशोधन रोक्न नहुने आदेश दिइसकेको अवस्थामा नेकपा एमालेले संसद् अवरोध र संशोधनको विरोध गर्नु अलोकतान्त्रिक कार्य भएको गठवन्धनले जनाएको छ ।

यस्तै, गठबन्धनले आगामी माघ १ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । ‘वर्तमान राजनीतिक परिस्थिति र संविधान संशोधन÷परिमार्जन’ बिषयक गठबन्धनले अन्तरक्रिया गर्दैछ । संशोधनका लागि सरकारलाई दबाब दिन गठबन्धनले राष्ट्रियस्तरको अन्तरक्रिया गर्ने निर्णय गरेको हो । गठबन्धनको आह्वानमा हुने सो अन्तरक्रियालाई घटक दल नेपाः राष्ट्रिय पार्टीले व्यवस्थापन गर्ने जिम्मा पाएको छ ।

संविधान संशोधनमा सरकारी ढिलाई र एमालेको अवरोधले गर्दा संशोधनदेखि संविधान कार्यान्वयनसम्मका सबै प्रक्रिया अवरुद्ध भइसकेकोले भावी आन्दोलनका लागि जनमत निर्माण गर्न अन्तरक्रिया गर्न लागिएको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए । संविधान संशोधनको विरोधका नाममा एमाले नेताहरूले नश्लीय अभिव्यक्ति र गतिविधि गरेर मुलुकलाई विभाजनतर्फ धकेल्न खोजेको गठबन्धनको आरोप छ ।

एमाले जस्ता केही प्रतिगमनकारी दलहरूले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्रजस्ता महत्वपूर्ण उपलब्धिहरूलाई धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्यमा उद्दत रहेकोले त्यसतर्फ सचेत रहन गठबन्धनले सबैलाई आग्रह गरेको छ ।





Back to Top ↑