आइत, चैत्र १०, २०७५

पतनोन्मुख कांग्रेस र यसका सारथी शेरबहादुर देउवा!

Published on ११ पुष २०७३, सोमबार १४:१६ | by किरातसंसार

827772459
| गोपाल बुढाथोकी

‘अहँ, भारत जाँदिन, निर्वासनमा जाँदिन, भागेर जाँदिन, जे गर्छु नेपालकै माटोमा गर्छु’ यसो भन्दै नेपाली राजनीतिका एक शिखर पुरुष जेल बसेका थिए । उनी थिए कृष्णप्रसाद भट्टराई । सन्त नेता भनेर कहलिएका किशुनजीलाई सधैं सम्झाउने दुई चिज छन्– छाता र सुराही ।

ती चिज आज कहाँ छ भन्ने शायद कांग्रेसलाई थाहा छैन । किशुनजीको पार्टी कांग्रेसलाई किशुनजीको देशभक्ति थाहा हुने त झन कुरै भएन ।
कुनै उपाय देखिएन, राजनीतिक बाटो देखिएन भने एकमुठी माटो समाएर निर्णय गर्नु भनेका थिए वीपी कोइरालाले । वीपीको पार्टी नेपाली कांग्रेस अहिले उपायविहीन, बाटो नदेखेको र विराएको हालतमा छ ।

कांग्रेस नेताहरुले एकमुठी माटो हातमा लिएर विवेक प्रयोग गरे भने आगामी राजनीतिक बाटो पहिल्याउन सक्छन् तर तिनले समात्ने माटो कहाँको हुन्छ भन्ने चाहिं मुख्य प्रश्न बनेको छ । कांग्रेसको हालत यस्तो छ, उसले उठाएको माटो नेपालकै हुन्छ कि हुँदैन ? भो, प्रश्न गरेर व्यर्थै मन खल्लो किन पार्नु ?

कृष्णप्रसाद र वीपी थिए भने उनीहरुले आजको यस्तो अवस्थामा कस्तो निर्णय गर्थे होलान् ? यो उत्सुकता समाधानको कुनै उपाय छैन, फगत विष्लेशण गर्न सकिन्छ । कांग्रेस आज जुन हालतमा छ, वीपी र किशुनजी थिए भने यो हालतमा अवश्य हुने थिएन । किशुनजीको जन्मजयन्तीमा कांग्रेसले झारा टार्ने कार्यक्रम मात्र गर्‍यो ।

किनभने कांग्रेस आज किशुनजीको बाटोभन्दा धेरैधेरै नै विपरीत बाटोमा गइसकेको छ । नेपाली माटो हातमा लिएर विवेकपूर्ण निर्णय गर्ने अवस्थामा कांग्रेस आज छैन ।

यो पार्टीमा पदाधिकारी कसलाई नियुक्त गर्ने भन्ने निर्णय पनि नेपाली माटोमा हुँदैन । फलानो मानेन भनेर छिमेकी देशको कुनै एउटा निकायको अधिकारीतिर देखाउनुपर्ने हालतमा कांग्रेसका सभापति छन् । राष्ट्रिय राजनीतिका जटिलतम समस्यामा के निर्णय गर्ने भन्ने कांग्रेस केन्द्रीय समितिले बोल्दैन ।

तेस्रो ठूलो पार्टी माओवादी केन्द्र र मधेसका ससाना दलको बोलीमा कांग्रेसको सम्भावित निर्णय खोज्नुपर्ने अवस्था छ । अर्थात्, घरेलु राजनीतिमा पनि आफै निर्णय गर्न नसक्ने लाचार हालतमा कांग्रेस छ ।

उसलाई माओवादी र मधेसवादीले नाकमा नत्थी लगाइदिएका छन् । उनीहरुले जता तान्छ कांग्रेस त्यतै जान्छ । यो कांग्रेसको मात्र विजोग होइन, समग्र लोकतन्त्रकै विजोग हो । सबैभन्दा ठूलो राजनीतिक पार्टीको यो बेहालले मुलुककै कस्तो बेहाल छ भन्ने दर्शाउँछ ।

प्रष्ट स्पष्ट छ– चुनाव हुने छैन । स्थानीय निकायको चुनाव गर्ने भनिन्छ तर चुनावको मुडमा सत्ताधारी दलहरु छैनन् । मुखले चुनावभन्दा तिनको खुट्टा लगलग कामेको देखिन्छ । उता प्रतिपक्षी एमाले चाहिं अहिलेको लोकप्रियता भजाएर बहुमत ल्याउने दाउमा छ र स्थानीय निकायको नभएर आम चुनाव गरौं भनिरहेको छ । परिस्थिति कस्तो देखिन्छ भने यही गतिरोध कायम रहे स्थानीय र आमचुनाव हुने छैन । प्रदेशको चुनाव कसैले उच्चारण गरेका छैनन्, त्यसैले प्रदेशको चुनाव हुने कुरै भएन ।

कुनै चुनाव नभएरै २०७४ माघ आठ आउने सम्भावना प्रबल दृष्टिगोचर हुन्छ । त्यसपछि देशको हालत के हुन्छ ? त्यसबेला देशको हालत स्पीडमा कुदेको मोटर भिरबाट खसेजस्तो हुनेछ । त्यो स्थिति आउँछ भन्ने सबैले बुझिसके । तर, मोटरलाई भिरबाट खस्नबाट बचाउन ब्रेक लगाउने काम भइरहेको छैन ।

कथंकदाचित स्थानीय निकायको चुनाव भयो भने पनि आमचुनाव सम्भव देखिंदैन । स्थानीय चुनाव हुने आमचुनाव नहुने भयो भने पनि कुरा उही हो, उही अर्थात् मोटर भिरबाट खस्ने हो । ठूलो संवैधानिक शून्यता आउनेछ, मुलुकमा राजनीतिक अन्यौल छाउनेछ ।

यस्तो परिस्थितिमा नेपाली कांग्रेसले के गर्नुपर्ने हो ? यो बारेमा कांग्रेसभित्र छल हुन्छ तर छलफल हुँदैन । सभापति शेरबहादुर देउवाको अर्जुन दृष्टि प्रधानमन्त्री पदमा छ । उनी उधारो प्रधानमन्त्री बनिसकेका छन् । उधारो अवस्थालाई हातहातीमा परिणत गर्न उनी लागिपरेका छन् । चुनाव भएर होस् या नभएर होस्, राजनीतिक गतिरोध झन चर्किएर होस् या साम्य भएर होस्– देउवालाई प्रधानमन्त्री जसरी नि बन्नु छ । कांग्रेसले अब कसो गर्ने ? कांग्रेस नेताहरुको पटक्कै ध्यान छैन, सभापति देउवाको त झन छँदैछैन ।

प्रधानमन्त्री बन्न पाइन्छ भने पाँच नम्बर प्रदेश फुटाइदिने मात्र नभएर समग्र मधेस एक प्रदेश बनाइदिन पनि सभापति देउवा तयार देखिन्छन् । अहिले नागरिकताको प्रावधान खुकुलो पार्ने प्रयास भइरहेको छ, पूरै खुकुलो बनाउन पनि देउवा तयार छन् । हिन्दीलाई राष्ट्रिय भाषा बनाउन समेत देउवा तयार हुन सक्छन् ।

अर्थात्, नेपाली कांग्रेस पतन उन्मुख छ र यसको पतनका सारथि शेरबहादुर देउवा बनिरहेका छन् । देशको सबैभन्दा ठूलो पार्टी पतनमा जाँदा समग्र राजनीति नै जटिलतामा फसेको छ ।

एमाले जसरी पनि चुनाव खोज्ने, प्रधानमन्त्री प्रचण्ड जसरी पनि पदमा टिकिरहन खोज्ने अनि देउवा चाहिं प्रचण्डको ठाउँमा आफू सत्तासीन हुने– यही हो अहिलेको नेपाली राजनीतिको भित्री खेल र झेल ।

यी तीन शक्तिलाई एक ठाउँमा आएर साझा निर्णय गर्न नदिने वैदेशिक खेल छ । आन्तरिक खेल र वैदेशिक खेलको गठजोडले नेपाली राजनीति झनझन जटिल बन्दैछ । उपाय एउटै छ– तीन शक्ति एक ठाउँ आउनुपर्छ । कसरी आउने त ? यसरी आउने भन्ने कुनै ठोस फर्मूला अहिले भन्न सकिंदैन तर कसरी आउने भन्ने उदाहरण भने दिन सकिन्छ ।

संविधान बनाउँदा जसरी एक ठाउँमा आएका थिए, त्यसरी नै आउनुपर्छ । त्यसरी एक ठाउँमा आएनन् भने के हुन्छ ? कि राजतन्त्र पुनर्जीवित बन्ने ढोका खुल्छ कि तानाशाहीको बाटोमा मुलुक जानसक्छ ।

यी दुवै बाटोमा गएन भने मुलुकमा ठूलो अराजकता हुनेछ । देशलाई कुन बाटोमा लाने ? सबैभन्दा ठण्डा दिमागले सोच्नुपर्ने दायित्व सबैभन्दा ठूलो पार्टीको हैसियतले कांग्रेसको होइन र ?

(वरिष्ठ पत्रकार बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्)





Back to Top ↑