बुध, साउन ८, २०७६

नयाँशक्तिकै नेता भन्छन्– नाम नयाँशक्ति, काम त्यस्तो भएन

Published on ७ मंसिर २०७३, मंगलवार १२:३६ | by किरातसंसार

dev-labung

| देव लिम्बु लाबुङ

हाम्रो पार्टी नाम अनुसार नयाँ शक्ति बन्न सकेको छैन । केही महिनाअघि मात्र खुलेको पार्टी भएकाले यो नयाँ हो तर बलियो शक्ति बन्न सकेको छैन । किनभने हामीले राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी प्रभाव सिर्जना गर्न सकेका छैनौं । हामी पुराना पार्टीहरुभन्दा खासै फरक हुन सकेनौं । यसैले नयाँ शक्ति बन्न सकिरहेका छैनौं । हामी नाममा मात्रको नयाँ शक्ति बनिरहेका छौं, काममा होइन । हामीले पुराना शक्तिहरुभन्दा भिन्न चरित्र र काम देखाउन सकिरहेका छैनौं ।

हामी परम्परागत पार्टीहरुभन्दा धेरै फरक हुन सकेका छैनौं । हामी पुराना पार्टीहरु त्यागेर नयाँ शक्ति निर्माणको महाअभियानमा होमिएका हौं । पुराना पार्टीका विकृति र प्रवृत्ति हामीले छाड्न सकेका छैनौं । नयाँ पुस्तालाई पर्याप्त आकर्षित गर्न पनि सकेनौं । हामीले चिन्तन शैली नयाँ अपनाउन सकेका छैनौं, कार्यशैली पनि नयाँ अपनाउन सकेका छैनौं ।

हामीले नयाँ विचार दिन सकेका छौं तर अन्योलमा पनि छौं । हामी वाम लोकतन्त्र भन्छौं । हामी वामपन्थी पार्टी हौं कि लोकतान्त्रिक पार्टी हौं? कि हामी वर्णशंकर विचारका हौं? जनताबाट आउने यस्तो प्रश्नको चित्तबुझ्दो जवाफ दिन सकिरहेका छैनौं । हामीले विचारअनुसार कार्यक्रम पनि दिन सकेका छैनौं । पार्टी बन्न विचार चाहिन्छ तर विचारमात्र भएर एउटा पार्टी शक्तिमा परिणत हुन सक्दैन । विचारलाई पार्टीमा परिणत गर्न कार्यक्रम चाहिन्छ । जनताको मन छुने र हाम्रो विचारलाई सघाउने गरी कार्यक्रम दिन सकिरहेका छैनौं । राष्ट्रिय जीवनमा आएका जल्दाबल्दा विषयमा हामीले ठोस धारणा दिन सकेका छैनौं । त्यस्ता विषयमा पार्टीको आधिकारिक धारणा आउने गरेको छैन ।

अहिले संविधान संशोधनको विषय ज्वलन्त बनेको छ । संविधान संशोधनबारे हाम्रो पार्टीको धारणा के हो? यत्ति महत्वपूर्ण विषयमा हाम्रो धारणा आधिकारिक रुपमा राखेर जनता र संसदमा रहेका पार्टीहरुलाई मार्गदर्शन गर्ने काम हामीले गर्नुपर्छ । यो देशलाई मार्गदर्शन गर्न सक्ने शक्ति नयाँशक्ति नै हो भन्ने स्थापित गर्नुपर्छ ।

संविधान संशोधनमार्फत् कतिपय प्रदेशमा तराई र पहाड छुट्याउने गरी फेरबदल गर्न खोजिँदैछ, हिमाल पहाड तराईको देशमा विभाजनकारी ढंगले सरकार अगाडि बढेको छ । पूर्वको झापा, मोरङ र सुनसरीमा कुनै आन्दोलन छैन, त्यहाँका जनता अहिले भएकै प्रदेशमा रहन चाहन्छन् भन्ने देखिन्छ तर अन्य प्रदेशका नेताहरुले ती जिल्लाको भाग्य निर्धारण आफूले भने अनुसार गर्नुपर्छ भनिरहेका छन् । स्थानीय जनताको इच्छाविपरीत कुनै काम गर्न हुन्न भनेर पार्टीले अगुवाई गर्न सक्नुपर्छ ।

चुनाव गर्ने बहानामा फेरि नागरिकता टोली गाउँगाउँमा खटाएर नागरिकता बाँड्न खोजिँदैछ । यस्तो कामको विरोधमा हाम्रो पार्टीले अगुवाई गर्न सकिरहेको छैन । नयाँ संविधानले धर्मनिरपेक्षता, समावेशी समानुपातिक र लोककल्याणकारी राज्यव्यवस्था भनेको छ । समावेशी समानुपातिक सुविधा र आरक्षण आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिमलगायतले पाउने हुन् । यस्ता समुदायका पुर्खाले गरेको योगदान र भोगेको विभेदको क्षतिपूर्तिका रुपमा समावेशी समानुपातिक आरक्षण पाउने व्यवस्था गरिएको हो । यस्तो सुविधा रैथाने नागरिकले पाउने हो । नयाँ नागरिकता लिने र केही दशकदेखि नेपालमा बस्नेले यस्तो सुविधा लिइरहेको हुनाले रैथाने नागरिक असन्तुष्ट बन्दै गएका छन् ।

नवनागरिकले रैथाने नागरिकको भागको आरक्षण र सुविधा खान पाउने गरी संवैधानिक व्यवस्था गरिएकोमा जनतामा असन्तुष्टि छाएको छ र विरोधको आवाज उठिरहेको छ । यस्तो विषयमा हाम्रो पार्टीले अगुवाई गर्न सक्नुपर्छ ।

विगत केही दशकदेखि नेपालमा बढ्दै गएको वैदेशिक आप्रवासनले यहाँका रैथाने समुदाय मर्कामा परेका छन् । खासगरी आदिवासी जनजाति र मधेसी समुदाय यस्तो मर्कामा अरुभन्दा धेरै परेको देखिन्छ, किनभने युगौंदेखिका रैथानेको सुविधा नवनागरिकसँग बाँड्नुपर्ने अवस्था छ ।

यस विषयमा पार्टीले ठोस धारणा बनाएर आप्रवासन निरुत्साहित गर्ने, आप्रवासीलाई नागरिकता दिन कडाई गर्ने र आप्रवासीले रैथानेसरह आरक्षण नपाउने व्यवस्था गर्नका लागि पार्टीले अभियान सञ्चालन गर्नुपर्छ । यसका साथै विगतमा बाँडिएका नागरिकता छानबिन गर्न र रैथाने आदिवासी जनजाति, मधेसीलगायत समुदायको आरक्षण र सुविधाको हिस्सा केही दशक यता नेपाल छिरेकाहरुले लिन नपाउने व्यवस्था गर्ने कामको अगुवाई हाम्रो पार्टीले गर्नुपर्छ ।

साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु नै आजको मुख्य आवश्यकता हो । यो आवश्यकतालाई गौण ठानेर जातीय र धार्मिक विचार पनि मुलुकमा हावी हुन खोज्दैछ । पार्टी संगठनको मुख्य आधार विचार हुनुपर्नेमा जातीय भावनालाई संगठनको आधार बनाउने प्रवृत्ति मुलुकमा हावी हुँदै गएको देख्नुपर्छ । हाम्रो पार्टी यो विचारबाट माथि उठ्नुपर्छ र हामी नेपाली भन्ने भावनालाई सर्वाेपरी बनाउन सक्नुपछ ।

संविधान निर्माणको विशिष्ट परिस्थितिमा जातीय आवाजहरुको आवश्यकता थियो होला तर अब जातीय आवाज बोलिदिने काम स्वयं संविधानले गरिसकेपछि जातीय आवाज बोल्नलाई बेग्लै संगठनको आवश्यकता रहँदैन । संविधान कार्यान्वयन नै हरेक जातीय समुदायको मुख्य मुद्दा बन्नुपर्ने अवस्था छ । यो कार्यभारलाई बेवास्ता गर्दै जातीय राजनीतिक दलदलमा अन्य पार्टीहरु जसरी हाम्रो पार्टी फस्नु हुँदैन ।

नयाँ संविधान कार्यान्वयनमा अहिलेका संसदीय पार्टीहरु उदासीन देखिएका छन् । नयाँ संविधान देशको उपलब्धी हो । सबै जाति समुदायका लागि यो ठूलो उपलब्धी हो । संविधान कार्यान्वयन गर्ने नाममा मनपरीसँग संविधान संशोधन गर्न खोजिँदैछ । भारतले दिएको दवाब र पार्टीगत भागवण्डाको आधारमा संविधान संशोधन गर्न खोजिँदैछ । यस्तो कामको विरोधमा हाम्रो पार्टीले शशक्त आवाज उठाउन सक्नुपर्छ । संविधान संशोधनका लागि भारतले दिइरहेको दवाबको प्रतिरोधको अगुवाई पनि हाम्रो पार्टीले गर्नुपर्छ ।

हाम्रो पार्टीको संगठनात्मक स्वरुप पनि स्पष्ट हुन सकेको छैन । संगठनलाई चुस्त बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको छ । संगठनमा जीवन र जागृति तब पैदा हुन्छ जब पार्टीले आफूलाई जनतासँग प्रत्यक्ष सम्बन्धित मुद्दासँग बढिभन्दा बढि एकाकार गरेर लैजान्छ । जस्तो कि अहिले संसदमा महाभियोग जस्तो महत्वपूर्ण मुद्दा विचाराधीन छ । राजनीतिक नेतृत्व भ्रष्टिकरण हुँदै गएकाले त्यसलाई नियन्त्रण गर्ने काम अख्तियारले गर्छ भन्ने जनताको आशामा तुषारापात भएको छ । महाभियोग पारित गर्न र सो ठाउँमा स्वछ र निष्कलंक पात्र स्थापित गर्न हाम्रो पार्टीले व्यापक जनदवाब सिर्जना गर्न सक्नुपर्छ ।

हाम्रो पार्टीप्रति जनताको ठूलो विश्वाश रहेको छ । जनविश्वाश अनुरुप हामीले संगठन विस्तार गर्न र कार्यक्रमहरु गर्न सकिरहेका छैनौं । जनचाहना अनुरुप पार्टीले गति लिन नसकेकोमा सम्पूर्ण पार्टीपंक्तिको कमजोरी रहेको छ । पार्टीमा नेतालाई दोष दिने र आफू चोखो देखिने प्रवृत्ति पूराना पार्टीहरुको कुसंस्कार हो । जनचाहना अनुरुप पार्टीले गति लिन नसकेकोमा एक कार्यकर्ताको नाताले म स्वयं पनि दोषी छु र यसका लागि आत्मालोचित हुन्छु । जस आफूले लिने र अपजस अरुको टाउकोमा हाल्ने पूराना पार्टीहरुको विकृत चलन त्यागौं, जसको मात्र होइन अपजसको भारी पनि सबैले लिने परिपाटी विकास गरौं ।

(लाबुङ, नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य तथा १ नं. प्रदेश सम्पर्क संयन्त्र संयोजक हुन् ।)





Back to Top ↑