शुक्र, भदौ ६, २०७६

दयाहाङ राई र नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री

Published on ९ पुष २०७३, शनिबार १५:२८ | by किरातसंसार

काठमाडौं . नवौं नेफ्टा अवार्डमा कबड्डी कबड्डीबाट दयाहाङ राई अभिनेतातर्फ र नम्रता श्रेष्ठ क्लासिकबाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । चलचित्र पशुपति प्रसाद सर्वोत्कृष्ट घोषित भएको छ । युएईको दुबईमा शुक्रबार अबेर सम्पन्न अवार्डमा पशुपति प्रसादसहित वडा नम्बर ६, प्रेमगीत र क्लासिक धेरै विधामा विजयी रहे ।

दशक लामो सशस्त्र द्धन्द्धको सेटिङ बुनिएको सिनेमा वडा नम्बर ६ बाट उज्वल घिमिरे सर्वोत्कृष्ट निर्देशकको ट्रफी उचाले । पल शाहले नाइँ नभन्नू ल ४ बाट डेब्यु अभिनेताको अवार्ड जिते । महिलातर्फ यो विधामा ड्रीम्समा साम्राज्ञी शाह विजयी रहिन् । पशुपति प्रसादबाट बिपिन कार्कीले उत्कृष्ट नेगेटिभ पात्रको उपाधि जिते ।

सहायक अभिनेता विधामा पशुपति प्रसादबाट प्रकाश घिमिरे उत्कृष्ट बने । महिलातर्फ यस विधामा जन्मभूमिबाट निश्मा घिमिरे सर्वोत्कृष्ट बनिन् । नाइँ नभन्नू ल ४ बाट पुरुषोत्तम प्रधान सर्वोत्कृष्ट छायांकार बने । फन्कोबाट बिपिन मल्ल सर्वोत्कृष्ट सम्पादक बने ।

n15

प्रेमगीतले रिनशा राईलाई उत्कृष्ट नृत्य निर्देशकको ट्रफी दिलायो । यही रोमान्टिक फिल्मबाट अर्जुन पोखरेलले संगीतकार विधामा जिते । सुगम पोखरेल प्रेमगीतबाटै पुरुषतर्फ उत्कृष्ट पाश्र्वगायक बने र अञ्जु पन्तले यही फिल्मबाटै महिलातर्फ पाश्र्वगायिका जितिन् ।

पटकथा विधामा रोड ड्रामा फिल्म फन्को सर्वोत्कृष्ट घोषित भयो । सुवर्ण थापाले यस फिल्मबाट अवार्ड जिते । अधकट्टीबाट विल्सनविक्रम राईले उत्कृष्ट हाँस्य अभिनेताको उपाधि जिते ।

पशुपति प्रसादबाट खगेन्द्र लामिछानले उत्कृष्ट संवाद विधामा जित हासिल गरे । कथा विधामा कबड्डी कबड्डीबाट रामबाबु गुरुङ उत्कृष्ट बने । नाइँ नभन्नू ल ४ बाट कृष्णहरि बराल सर्वोत्कृष्ट गीतकार घोषित भए । फन्कोबाट सुजिल कर्माचार्य सर्वोत्कृष्ट ब्याकग्राउन्ड स्कोरर बने ।

उत्तम न्यौपानेले धौलीबाट ध्वनी मिश्रण विधाका लागि ट्रफी उचाले । वडा नम्बर ६ बाट राजन इसानले संगीत संयोजनका लागि जित दर्ता गरे । भैरवबाट हिमाल केसीले एक्सन विधा जित्दा पासाङ टी शेर्पाले वडा नम्बर ६ का लागि कला निर्देशकको उपाधि जिते । प्रेमगीतबाट युवी थापा र योगिता पुन सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर घोषित भए । श्रृंगार विधामा दीपु पौडेलले को–आफ्नोबाट अवार्ड जिते ।

लोकप्रिय विधामा पनि अवार्ड वितरण गरियो । अनमोल केसी वर्ष ०७२ का लोकप्रिय अभिनेता घोषित भए । पूजा शर्मा यसवर्षकै लोकप्रिय अभिनेत्री घोषित भइन् । दुई पाका प्राविधिकलाई यसवर्षको लाइफटाइमअ अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । डेढसय फिल्ममा भान्छा सम्हालेका कूलबहादुर महत जेठा दाई र नन्दबहादुर गर्मुछान मगरलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित दीर्घसाधना सम्मान प्रदान गरियो ।

सामाजिक कार्यबापत राष्ट्रिय योगदान दिएको भन्दै सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई पनि सम्मान प्रदान गरियो । धुर्मुस सुन्तली नामले चर्चित उनीहरुले हालै तेस्रो नमुना बस्ती निर्माणको घोषणा गरेका थिए ।

अभिनेत्री दीपाश्री निरौलालाई बरिष्ठ निर्देशक एवं निर्माता नीर शाहले प्रोत्साहन सम्मान प्रदान गरे । नेफ्टा स्वर्णिम सम्मानबाट तीन पाका अभिनेत्री भुवन चन्द, चैत्य देवी र बसुन्धरा भुषाल सम्मानित भए । नेपाल प्रहरीका डीआइजी नवराज सिलवाललाई सुरक्षा स्थापनामा योगदान दिलाएको भन्दै सम्मान गरियो । दुबईस्थित आयोजक संस्था कन्सेप्ट भिजन फिल्म डिष्ट्रिब्युसनका सालिक सुवेदी, राजन अधिकारी र अनिशसिंह ठकुरीलाई सम्मान दिइयो ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार दुबई अवार्ड भव्यरुपमा सम्पन्न भएको छ । अवार्ड समारोहमा दुबईका सेखको पनि उपस्थती थियो । नेपालबाट कूल १ सय २० सिनेकर्मी युएईको राजधानी पुगेका थिए ।





Back to Top ↑