आइत, चैत्र १०, २०७५

ज्ञवाली बर्खास्त, पोखरेल नयाँ सिइओ नियुक्त

Published on २७ पुष २०७३, बुधबार १९:३७ | by किरातसंसार

sushil_gyawali

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । उनको स्थानमा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो । पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायतका आरोप लगाएर सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोध्नु अघिनै ज्ञवालीलाई । बर्खास्त गर्ने सहमति भए पनि प्रक्रिया पु¥याउन भन्दै मन्त्रिपरिषद्को कार्यालयले पुन २४ घण्टे स्पष्टीकरणका लागि पत्र काटेको थियो ।

पोखरेल योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले उनलाई प्राधिकरण सिइओको जिम्मेवारी पनि दिएको थियो । त्यतिवेला अध्यादेशमार्फत प्राधिकरण गठन भएको थियो ।

तर, दलहरूबीच सहमति नहुँदा संसद् सुरु भएको ६० दिनभित्र अध्यादेश स्वीकृत नभएपछि पोखरेल स्वतः पदमुक्त भएका थिए । कांग्रेसले पोखरेललाई नै सिइओ बनाउनुपर्ने जोड दिए पनि सरकारको नेतृत्व गरेको एमालेले मानेको थिएन ।

यसैबीच, सरकारले बर्खास्त गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्यायपूर्ण तरिकाले आफूलाई हटाइएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् ।

बुधबार साँझ विज्ञप्ति निकाल्दै ज्ञवालीले अहोरात्र खटिई निजी आवास, शैक्षिक संस्था, पुरातात्विक सम्पदाहरू, स्वास्थ्य संस्था, सार्वजनिक संरचना, एवं जिविकोपार्जन लगायतका पुनर्निर्माण एवं पुनःस्थापनासम्बन्धी कार्यहरू द्रुत गतिमा भइरहेको अवस्थामा आफूलाई पदबाट हटाउने निर्णयले आफू आश्चार्यमा परेको उल्लेख गरेका छन् ।

उनले सरकारले सोधेका दुवै स्पष्टीकरणमा आफूले सत्यतथ्य जानकारी गराएको उल्लेख गर्दै ती विषयमा गम्भीर छलफल गरी पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यहरूलाई अघि बढाउनु पर्नेमा प्रमुख कार्यकारी पदबाट हटाउने गरी भएको निर्णयले समग्र पुनर्निर्माण र पुनःस्थापनाका कार्यहरूलाई प्रभावित गर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको बताएका छन् ।





Back to Top ↑