बुध, साउन ८, २०७६

कवितामा रेमिट्यान्स

Published on ११ मंसिर २०७३, शनिबार २२:४० | by किरातसंसार

kabita-ko-ramitanas

काठमाडौं । वैदेशिक रोजगारीका लागि जानेहरूले ‘रेमिट्यान्स’ त ल्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरूपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक बहराइनमा कार्यरत भोजपुर, छिनामखुका युवा सुन्दर गुरुङ कविताको ‘रेमिट्यान्स’ लिएर स्वदेश फर्किएका छन् ।

उनै गुरुङको पहिलो कविताकृति ‘आफूले खोजेको स्वर्ग’ राजधानीमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले विमोचन गरेका छन् । विमोचनमा रसिकले वैदेशिक रोगजारीका क्रममा गएका नेपाली युवाले पछिल्लो समयमा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान पु¥याइरहेको दावी गरे ।

एक महिनाअघि मात्रै स्वदेश आएका कवि गुरुङले कार्यक्रममा ‘आफूले खोजेको सहर’समेत दुई कविता पाठ गरेका थिए । उनले आफूलाई कविता लेख्न सामाजिक सञ्जाल फेसबुकले उत्पेरित गरेको बताए ।

उनले भने, ‘फेसबुकको जन्म नभएको भए सायद म कविको अवतारमा आउने थिइनँ होला ।’ अमृता गुरुङद्वारा प्रकाशित कविताकृतिमा ‘मेरो सवाल’, ‘साथी’, ‘दुःखीलाल’, ‘दसैँ’, ‘वनचरी’, ‘आफूले खोजेको स्वर्ग’, ‘मेरी आमा’, ‘यो कथा सहरको’ जस्ता २७ वटा कविता समावेश गरिएका छन् ।





Back to Top ↑