बुध, साउन ८, २०७६

‘उधौली एकापसमा भाइचारा स्थापित गर्न पनि हो’

Published on २९ मंसिर २०७३, बुधबार १४:२५ | by किरातसंसार

किरात समुदायको उधौली पर्व मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ । यस पर्वलाई १५ दिनसम्म मनाइने किराती परम्परा छ । विशेषगरी नयाँ अन्नबाली सप्रेको खुसियालीमा पितृलाई चढाउँदै एकापसमा भाइचारा स्थापित गर्न यस चाड मनाइने गर्दछ । आदिम कृषि युगसँग जोडिएको यस किराती संस्कृतिलाई चार किरात समुदायले भिन्नभिन्न नाम दिई मनाउने गर्दछन् । राईले साकेला, लिम्बुले चासोक तङनाम, सुनुवारले फोलश्याँदर र याक्खाले चासुवा पर्वको रुपमा उधौलीलाई मनाउने प्रचलन रहिआएको छ । वर्षमा दुई चोटी मनाइने यस चाडको विशेषता र महत्वबारे यहाँ किरात राई यायोक्खाका महासचिव जीवन हाताचोसँग किरातसंसारले लिएको संक्षिप्त सार प्रस्तुत गरिएको छ–

jivan-hatacho

नेपालका भूमिपुत्र किरातीहरु हुन । यस ठाउँलाई सबैभन्दा पहिले आवाद गर्ने किराती हुन् । यसपछि यस भूमिमा व्यवस्थित रुपमा कृषि प्रणाली सुरुवात गरे । कृषि प्रणालीको व्यवस्थित सुरुवातसँगै उधौली र उभौली पर्व किरातहरुले मनाउन थालेका हुन् ।

वैशाखमा जुन बेला भूमि बाँझो रहेको हुन्छ । त्यसबेला वैशाखे पूर्णिमामा प्रकृतिसँग वर मागिन्छ । वर्षा मागिन्छ । यसपछि प्रकृति र भूमिको अनुमति मागेर त्यहाँ खनजोत गर्ने र बालीनाली लगाएर खेतीपाति सुरुवात गरिन्छ । यसलाई किरातीहरुले उभौली भन्दछन् ।

मंसिर पूर्णेको बेलाचाहिँ हामीले लगाएको धानलगायतका अन्नबाली पाकेपछि उठाउँछौं । पाकेका अन्नबाली उठाएपछि आफ्नो पितृ र चूलामा पहिला चढाइन्छ । यसपछि आफ्ना वरिपरिका इष्टमित्र, आफन्त र गाउँलेमाझ उल्लासपूर्ण वातावरणमा रमाइलो गरी मनाइन्छ । अब हामीले प्रकृतिबाट उब्जाएको अन्नबाली भित्र्याएपछि अनिकाल टरेकामा खुसियाली मनाइन्छ । अझ किराती समुदायमा अन्नबालीदेखि लिएर धनसम्पत्ति सबै श्रीसम्पन्न होस् भन्ने शुभकामना साट्नको लागि पनि उधौली मनाइन्छ ।

उधौलीको विशेष महत्व प्रकृतिसँगै जोडिएको छ । जबजब यो मंसिरमा जाडो हुन्छ । जाडो भएपछि माथि लेकतिरबाट वेंसी झर्ने चलन छ । भेंडीगोठहरु तलतिर सार्ने चलन छ । न्यानोको लागि माछा, पशुपंक्षी सबै तराई झर्ने चलन छ । त्यहीँ कारण उधोतिर झर्ने भएकाले यसलाई उधौली भनिएको हो ।

उभौलीचाहिँ गर्मीयाममा गर्मी छल्नको लागि माथि लेकतिर जाने भएकाले उभौली भनिएको हो । यसको विशेष महत्व दस किरातहरुले आपसी सदभाव कायम गर्नको लागि र शुभकामना साटासाट गर्नका साथै भाइचारा निर्माण गर्नको लागि गरिने भएकाले यसको असाध्यै महत्व छ ।





Back to Top ↑